विद्यालाई एमालेमा प्रवेश निषेध, तिन नेताको असहमति, पार्टी फुटे फ़ुटोस -ओली

साउन, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन प्रवेश निषेध गर्ने पार्टीको निर्णयमा नेकपा एमालेका तीन जना नेताले असहमति जनाएका छन् । नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठक असहज परिस्थिति र हो-हल्लाबीच मंगलबार मध्यरात सकिएको छ ।

पार्टी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानको धारा ८ र ९ देखाउँदै सदस्यता नवीकरण गर्न नहुने निर्णय सुनाएका थिए । ओलीले उक्त निर्णय सुनाउँदै गर्दा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले फरक मत राखेका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने निर्णयप्रति बिमति जनाएर स्थायी कमिटी सदस्य कर्ण थापाले बोल्दै गर्दा अध्यक्ष केपी शर्मा ओलीले बैठक सकिएको जानकारी गराएका हुन् ।

सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले असहमति व्यक्त गरेका छन् । कर्ण थापाले तीन मिनेट जति बोलिसक्नु भएको थियो, अध्यक्षले छिटो सक्न भन्नुभयो, कर्ण थापाले बोलिरहनुभएको थियो’, बैठकका एक सहभागीले भने, ‘अध्यक्षको संकेत बुझेपछि अरु नेताहरुले कर्ण थापाको विरोधमा हल्ला गर्न थाले, हल्लाकै बीच ‘बैठक सकियो’, भन्दै अध्यक्ष हिड्नुभयो ।’

अध्यक्ष ओली हिँडेपछि बैठक तितरबितर भयो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पत्रकारहरुलाई बैठकको निर्णय सुनाए । गौतमका अनुसार पूर्वराष्ट्रपति भण्डारी गणतन्त्रको प्रतीक भएकाले राजनीतिमा आउन नमिल्ने निर्णय बैठकले गरेको छ ।

बैठक हल आफ्नो पक्षमै देखेर ओलीले समापन मन्तव्यबाटै पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरणले मान्यता नपाएको घोषणा गरेका थिए । उहाँको (विद्या भण्डारी) सदस्यता नवीकरणबारे कि केन्द्रीय कमिटीले विशेष निर्णय गर्नुपर्‍यो कि सुरुबाटै प्रक्रिया (नयाँ सदस्यता लिने) बढाउनु पर्‍यो । अब त्यो (नवीकरण) हुँदैन, राजनीतिमा आउन मिल्दैन ।’कर्मचारीलाई पैसा बुझाएर रसिद लिएर जानु भयो, त्यो मान्य हुँदैन’, ओलीले तर्क गरे, ‘

दुईपटकको उपाध्यक्ष, पूर्वराष्ट्रपति, मदन भण्डारीसँग लिगेसी जोडिएको नेता, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरिसकेको मान्छेलाई कम आँक्नु हुन्न’, ज्ञवालीले भने, ‘यो निर्णय फिर्ता नलिने हो भने ठूलो संकट आउन सक्छ, पार्टी बिग्रहमा जान सक्छ ।’

ज्ञवालीले बोलिरहँदा बीचबीचमै ओलीले जवाफ दिइरहे । ‘युवराज कमरेडले संकट आउन सक्छ भन्दा केपी कमरेडले आओस् भन्नुभयो’, बैठक स्रोत भन्छ, ‘युवराज कमरेडले विगतमा पनि विभाजन खेप्दै आएका छौं भन्दा अध्यक्ष कमरेडले जे पर्छ, सहुँला भन्नुभयो ।’